चैत ३१ मेल्लेख
अछाम । मेल्लेख गाउँपालिका वडा नं. ५ बिन्ध्यवासिनीका वडा अध्यक्ष प्रकाश अधिकारीले जयगढका आगलागी पीडितहरूको उद्धार तथा पुनर्स्थापनाका लागि व्यक्तिगत पहलमा आर्थिक सहयोग संकलन गरी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।
उनको व्यक्तिगत पहलमा विभिन्न सहयोगीहरुबाट संकलित १ लाख ३ हजार ७ सय रुपैयाँ उनले जयगढ पुगेर बान्नीगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् ।
उनले आगलागीले ध्वस्त भएका घरधुरी तथा धनमालको क्षतिको पूर्ति गर्न केही हदसम्म पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेका थिए।
संकलित रकम उनले गाउँपालिका कार्यालयमा पुगी अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावल समक्ष हस्तान्तरण गरे ।
गाउँपालिका अध्यक्ष साउँदले यस आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै जयगढका पीडितहरूको पुनर्निर्माणमा यो रकम सदुपयोग हुने विश्वास जनाएका छन्।
जयगढबिचबजारमा यहि चैत्र २६ गते राति आगलागी हुदा २ दर्जन घरमा संचालित ३५ पसल पूर्ण रूपमा नष्ट भएका छन्
जयगढका आगलागी पिडितहरुको पुनर्स्थापनाका लागी अन्य सहयोगी संस्था तथा व्यक्तिहरूलाई पनि पीडितहरूप्रति आर्थिक, भौतिक सहयोग गरिदिन गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले आग्रह गरेकी छन्



