मेल्लेख असार ३१
मेल्लेख गाउँपालिकाद्वारा शिक्षा, कृषि र प्रविधिमा महत्त्वपूर्ण निर्णय, विद्यार्थीलाई व्यावसायिक तालिमदेखि मन्टेश्वरी कक्षा सञ्चालन गरिने ।
अछामको मेल्लेख गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, कृषि, र प्रविधि क्षेत्रमा केन्द्रित रहँदै महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । गाउँ सभाकाे १६ औ अधिवेशनकाे तेस्रो बैठकबाट गाउँपालिकाको समग्र समृद्धि र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १२ का छात्रछात्राहरूका लागि वार्षिक ३ महिने व्यावसायिक र सीपमूलक शिक्षण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी, बालविकासलाई प्रभावकारी बनाउन ईसीडीदेखि कक्षा ४ सम्मका विद्यालयहरूमा मन्टेश्वरी कक्षा सञ्चालन गरिने भएको छ ।
साथै, आधारभूत तह कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन नेपाली भाषामा नैतिक शिक्षा र मनोसामाजिक शिक्षा कक्षा सञ्चालन गरिने निर्णयमा उल्लेख छ । शिक्षाको पहुँचबाट वञ्चित बालबालिकाहरूका लागि आवासीय विद्यालयको व्यवस्था मिलाइने भएको छ।
गाउँपालिकाले कृषि मार्फत आर्थिक समृद्धि र आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ । यसका लागि बाँझो जमिन भाडामा लिई स्थानीय रैथाने बाली र बहुवर्षीय खेती उत्पादन गर्न ठेक्का मार्फत कृषि खेती गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
मेल्लेख गाउँपालिकालाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत पालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूमा फाइबर लाइन जडान गरिने भएको छ । यो निर्णयले पालिकाको प्रशासनिक तथा शैक्षिक कार्यलाई आधुनिक र सहज बनाउने अपेक्षा गरिएको छ ।
बैठकले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐन र विनियोजन ऐन पनि सर्वसम्मत रूपमा पारित गरेको छ । यी निर्णयहरूले मेल्लेख गाउँपालिकाको विकास र समृद्धिमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।



