साउन ५ मेल्लेख
गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तारको लागी अछामको मेल्लेख गाउँपालिकाले काम थालनी गरेको छ । इन्टरनेटको पहुँच विस्तारले ग्रामीण क्षेत्रका मानिसको जीवनशैली बदलिने र गाउँ बाहिर, विदेशमा रहेका आफन्तसंग सहजै जोडिउन भन्ने उदेश्यले फाईबर इन्टरनेट विस्तारको काम अगाडी बढाइएको मेल्लेख गाउँपालिका अध्यक्ष ज्यवासिं साउँदले बताउनुभयो । प्रविधिको पहुँच सबै वडामा विस्तार गरी सुशासन कायम, विधुतिय सेवाहरू छिटो, सहज र पारदर्र्शी बनाउने योजना अघि सारेको उहाँको भनाइ छ ।
मेल्लेख गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३ को निति तथा कार्यक्रम अनुसार मेल्लेख गाउँपालिकालाई थप प्रविधि मैत्री गाउँपालिका बनाउने उद्देश्य सहित गाउँपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयहरूमा फाइबर लाइन जडान गर्ने काम सुरु भएको गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले वताउनुभयो । मोबाइल फोन, इमेल, इन्टरनेट जस्ता नयाँ नयाँ प्रविधिले गाउँवासीको जीवनशैली फेर्ने लक्ष्य राखीएको उहाको भनाइ छ ।
मेल्लेख गाउँपालिकालाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत पालिकाको यो निर्णयले पालिकाको प्रशासनिक तथा शैक्षिक कार्यलाई आधुनिक र सहज बनाउने अपेक्षा गरिएको छ । मेल्लेख गाउँपालिकाको आर्थिक सहयोग र खप्तड नेटको प्रविधिक सहयोगमा फाइबर इनटरनेटको लाइन तान्ने काम भैरहेको छ । एक महिना भित्र मेल्लेखका सबै आठ वडामा लाइन विस्तार गरिसक्ने र २८ हजार ३९६ जना लाभाम्भीत हुने सुचना प्रविधि अधिकृत विकास साउदले बताएका छन ।



