अछाम — “पढ्न कहिल्यै ढिला हुँदैन, र समाज परिवर्तनका लागि सिकाइ पहिलो कदम हो,” भन्छन् ६० वर्षीय लोकबहादुर रावल नेपाल प्रहरीमा सई पदबाट सेवा निवृत्त भएका रावल हाल अछामकाे मेल्लेख ३ ठाँटीकाे पिपल चौर माध्यमिक विद्यालयमा कक्षा १२ को बोर्ड परीक्षा दिएका छन्।
दशकौँसम्म सुरक्षामा समर्पित जीवन बिताएका रावलले अब जीवनको अर्को अध्याय सुरु गरेका छन्—शिक्षा र समाजसेवाको। सेवानिवृत्त भएपछि विश्राम लिने धेरैको धारणा विपरीत उनले फेरि कलम समाते, नयाँ पुस्तासँग काँधमा काँध मिलाएर परीक्षा हलमा बस्न थाले।
“मैले जीवनभर देश र जनताको सेवा गरेँ, अब शिक्षित भएर गाउँमा केही सकारात्मक काम गर्न चाहन्छु,” उनी भन्छन्, “शिक्षा बिना समाज परिवर्तन सम्भव छैन।”
उनको लक्ष्य अब केवल शैक्षिक उपलब्धिमा सीमित छैन—आगामी दिनमा आफूलाई पूर्ण रूपमा समाजसेवामा समर्पित गर्ने उनको प्रतिबद्धता छ। शिक्षा, सशक्तिकरण र सामाजिक सचेतनामा योगदान पुर्याउने उद्देश्यले उनी यस यात्रा अघि बढिरहेका छन्।
विद्यालयका शिक्षक र विद्यार्थीहरूका लागि रावल आज एक प्रेरणाको श्रोत बनेका छन्। उनी भन्छन्, “यदि मेरो प्रयासले अरूलाई पनि पढ्न र समाजका लागि केही गर्न प्रेरणा दिन सक्छ भने, म आफूलाई सफल ठान्नेछु।”
पूर्व सई लोकबहादुर रावलको कथा आत्मविश्वास, प्रतिबद्धता र समाजप्रतिको समर्पणको एउटा असल उदाहरण हो।
उमेरले होइन, सोचले मान्छे ठूलो हुन्छ भन्ने उदाहरण बनेका छन् बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–१, छतारा भुगातोला निवासी लोकबहादुर रावल। नेपाल प्रहरीको सई पदबाट सेवा निवृत्त भएका ६० वर्षीय रावल अनुहारमा आत्मविश्वास हातमा कलम, र मुटुमा सपना—शिक्षा हासिल गरेर समाज र राष्ट्रको सेवा गर्ने। “पढाइ अधुरै थियो, सेवा निवृत्तिपछि बाँकी जीवन समाज र मुलुकका लागि दिन चाहन्छु,” उहाँ भन्नू हुन्छ ।
नेपाल प्रहरीमा तीन दशकभन्दा बढी सेवा दिएका रावल अहिले शिक्षा प्राप्तिसँगै समाजसेवा र राजनीतिमा पनि सक्रिय हुने तयारीमा छन्। उनी भन्छन्, “शिक्षा प्राप्त गरेर जनताको आवाज बन्ने, ग्रामीण भेगका समस्या उठाउने र नीति निर्माणमा सक्रिय भूमिका खेल्ने मेरो सपना हो।”
पढाइसँगै गाउँघरमा सक्रिय समाजसेवीको छवि बनाइसकेका रावललाई स्थानिय तहमा युवादेखि वृद्धसम्मले सम्मानका साथ हेर्ने गर्छन्। उनले युवा पुस्तालाई शिक्षा र चेतनाको बाटोमा अग्रसर गराउने लक्ष्य लिएका छन्।
विद्यालयका शिक्षकहरू भन्छन्, “उहाँको लगनशीलता र सोचले यहाँका विद्यार्थी मात्र होइन, हामी शिक्षकहरू पनि प्रभावित भएका छौँ। उहाँ साँच्चै समाज परिवर्तनको उदाहरण हुनुहुन्छ।”
लोकबहादुर रावलको यो यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, यो एक युगको सन्देश हो—अवसर खोज्नु छैन, सिर्जना गर्नु पर्छ। उनले देखाएका छन् कि जहाँ इच्छा छ, त्यहाँ बाटो अवश्य हुन्छ।



